काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नै माधव नेपाल समूहले धोका दियो भन्नु गलत हुने बताएका छन्। शुक्रबार संसद भवनमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो डोज खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
प्रचण्डले फेरि पनि नेता नेपालसँग आफूहरूको भेट हुने सम्भावना रहेको बताए। उनले नेपाल समूह संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै रहेको पनि बताए। ‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं,’ उनले भने, ‘उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ।’
प्रचण्डले संवैधानिक ढंगले हुने निर्वाचनमा जान पार्टी तयार रहेकोसमेत प्रष्ट पारेका छन्। ‘संविधान विरोधी ढंगले काम भयो भने मात्र हाम्रो कन्सन्र्ट हुने हो,’ उनले भने, ‘संवैधानिक ढंगले हुने निर्वाचनमा जानका लागि हाम्रो पार्टी जहिले पनि तयार छ।’
संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था आएमा नेता नेपाल पक्षको सहयोग रहन सक्ने सम्भावना रहेको प्रचण्डले बताए। ‘म आशा गर्छु कि- उहाँहरू सत्य र लोकतन्त्र तथा संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने ठान्छु,’ ७६ (५) मा भेट हुन सक्छ ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो पनि हुन सक्छ।’



लोकपाटी न्यूज

