उर्जामन्त्री पुनले गरे करेन्ट लागेर ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्तिको घोषणा

Barshaman Pun
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । सरकारले धनुषाको सबैलामा शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गुमाएकाको परिवार तथा घाइतेलाई क्षतिपूर्तिकोे घोषणा गरेको छ ।

उर्जामन्त्री वर्षमान पुनले करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई पाँच लाख रुपैयाँ र घाइते भएका २१ जनाको उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन् । करेन्ट लागेर घाइते भएका मध्य १९ जना उपचारपछि घर फर्किसकेका छन् भने दुईजना उपचार भइरहेको छ ।

मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले सबैजना घाइतेको उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् । करेन्ट लागी गम्भीर घाइते भएका फूलकुमारी परियार र पवन परियार उपचार भइरहेको छ । उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले क्षतिपूर्ति तथा उपचार खर्च व्यहोर्ने मन्त्री पुनले जानकारी दिए । यसअघि सिन्धुलीका सांसद विशमलाल अधिकारी दनुवार, गणेश कुमार पहाडी र कमलामाई नगरपालिकाका मेयर खडग खत्रीले सोमबार मन्त्री पुनलाई भेटी मृतकका परिवारलाई राहत तथा घाइतेको उपचारको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

उनीहरुको आग्रहपछि मन्त्री पुनले क्षतिपूर्तिको घोषणा गरेका हुन् । शुक्रबार सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुवारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ कोठिया बाल्टियामा विवाहको लागि जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागि हुँदा ६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २१ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्