फागुन २८ को निर्णय हेरफेर हुँदैन : ओली

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय खारेज नहुने संकेत गरेका छन्। एमालेको असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले उठाउँदै आएको माग पुरा गर्न ओली तयार देखिएका छैनन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित चार जना नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। तर फागुन २८ गतेको निर्णय खारेज विषयमा भने बैठक मौन छ।

अध्यक्ष ओलीले अन्य सबै निर्णय फिर्ता लिए पनि फागुन २८ गतेको निर्णयबाट आफूपछि नहट्ने संकेत गरेको एक स्थायी समिति सदस्यले बताए। यद्यपि बैठकले पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर निर्णयमा पुग्ने तथा माधवकुमार नेपाल पक्षले उठाएका मागबारे निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको छ।

फागुन २८ गते बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको र ओली पक्षका नेताहरूलाई जिम्मेवारी दिएको थियो। त्यो बैठकले तत्कालीन माओवादीबाट आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो।

‘नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभएका पूर्वमाओवादी केन्द्रका नेताहरूको अवमूल्यन हुने गरी कुनै पनि निर्णय हुँदैन,’ बैठकमा ओलीले भनेका थिए। तर, नेता नेपाल फागुन २८ मा आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने ओलीको निर्णय फिर्ता लिनुपर्ने अडानमा छन्।

आफ्नो निर्णय उल्ट्याउन ओली अहिलेसम्म सहमत भएका छैनन्। तर स्रोतका अनुसार नेपालसँग विवाद उत्पन्न भएपछि पुनः गठन गरेका तल्ला समितिलाई मिलाउन कार्यदल गठन गर्न ओली सहमत छन्। तर, नेपाल पक्षले साबिक एमालेका पदाधिकारी पुनः स्थापित हुनुपर्ने अडान राखेपछि विवाद यथावत् छ।