काठमाडौं। नेकपा एमालेको असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अर्को अल्टिमेटम दिएको छ। असन्तुष्ट पक्षका नेता भीम रावलले आफूहरूका माग पुरा गर्न बिहीबार साढे ४ बजेसम्मको समयसीमा दिएको बताए।
खनाल-नेपाल पक्षले पार्टीको नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय समिति र अरू सबै संरचना यथावत् हुनुपर्ने माग राख्दै आएका छन्। यसअघि पनि यो समूहले वैशाख २७ गते अल्टिमेटम दिएका थिए।
फागुन २८ गते बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय समिति बैठकले नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको र ओली पक्षका नेताहरूलाई जिम्मेवारी दिएको थियो। त्यो बैठकले तत्कालीन माओवादीबाट आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो।
‘नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभएका पूर्वमाओवादी केन्द्रका नेताहरूको अवमूल्यन हुने गरी कुनै पनि निर्णय हुँदैन,’ बैठकमा ओलीले भनेका थिए। तर, नेता नेपाल फागुन २८ मा आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने ओलीको निर्णय फिर्ता लिनुपर्ने अडानमा छन्।
आफ्नो निर्णय उल्ट्याउन ओली अहिलेसम्म सहमत भएका छैनन्। तर स्रोतका अनुसार नेपालसँग विवाद उत्पन्न भएपछि पुनः गठन गरेका तल्ला समितिलाई मिलाउन कार्यदल गठन गर्न ओली सहमत छन्। तर, नेपाल पक्षले साबिक एमालेका पदाधिकारी पुनः स्थापित हुनुपर्ने अडान राखेपछि विवाद यथावत् छ।



लोकपाटी न्यूज

