नेपाल पक्षसहित स्थायी समिति बैठक बोलाउने ओलीको तयारी

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितको स्थायी समिति बैठक बोलाउने भएका छन्। नेपालसहित चार नेतामाथि निलम्बनको कारबाही फिर्ता लिएसँगै एमाले अध्यक्ष ओलीले आजै नेता नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने बुझिएको छ।

ओली निकट एक स्थायी समिति सदस्यका अनुसार उनले बिहीबार नै नेपाल पक्षलाई समेत समावेश गरेर स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्। नेपालसँग बुधवार राति र आज बिहानसम्म पनि टेलिफोनमा पटक-पटक कुराकानी भएको र आजै दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका एमाले नेता डा. राजन भट्टराईले बताए।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ। राजनीति निर्णायक घडीतिर अघि बढ्दा एमालेभित्रको विवाद नयाँ मोडमा पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा अध्यक्ष ओलीले रणनीतिक रूपमा चार नेतामाथिको कारबाही फुकुवा गरेका छन्। पुनः सत्तामा फर्किने रणनीतिका साथ ओलीले पार्टीका चार नेतामाथिको कारबाही फुकुवा गराएका हुन्। नेपाल पक्षका सांसदहरूले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरूको कारबाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्।

एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिँदा सरकार अल्पमतमा परेको छ। वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। खनाल र नेपाल पक्षका सांसद उक्त बैठकमा अनुपस्थित रहेका थिए। पछिल्लो समय यो समूहका सांसद राजीनामा दिने भन्नेमा पुगेको बेला नेताहरूमाथिको कारबाही फुकुवा गरिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी समिति बैठकले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ। एमाले स्रोतका अनुसार कारबाही फिर्तापछि बस्ने स्थायी समिति बैठक बस्ने सम्भावना छ।

स्रोतले भन्यो, ‘अहिले कुरा अड्किएको साबिक एमालेका पदाधिकारी यथावत् रहने कि नरहने भन्ने हो। यसबीचमा महाधिवेशन आयोजक कमिटी बनेर अघि बढिसकेकाले साबिक नेकपाको स्थायी कमिटीमा रहेका नेताहरूको बैठक बस्ने कुरा छ। त्यसमा एमालेका सबै र बादलसहित चार नेताहरू हुनेछन्।’

तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन्। यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी समितिको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो।

तर, माधव नेपाल पक्षले साबिक एमालेका पदाधिकारी पुनः स्थापित हुनुपर्ने अडान राखेको थियो। त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए। माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए।