काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले विभिन्न निर्णय गरेको छ।
बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो।
ति चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्बाङले बताए। ‘नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरूको निलम्बन फुकुवा गरिएको छ,’ नेम्बाङले भने। एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो।
पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमहरूको गर्दै पार्टी एकता रक्षाका लागिका विगतका सबै बिर्सिएर अगाडि बढ्ने भएकाले कारबाही फुकुवा गरेको प्रदिप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ।
बैठकले अक्सिजनको पर्याप्त प्रभावकारी र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण श्कति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ।




लोकपाटी न्यूज

