देउवालाई प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको यस्तो छ रणनीति

Mahanta-Thakur
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै राष्ट्रपति भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकिसकेकी छन्।

शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार निर्माणका लागि संविधानको धारा ७६ (२) को प्रक्रिया अघि बढाउन आग्रह गरेका गरेका थिए। राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि मौका दिएपछि विपक्षीलाई आफ्नो पक्षमा बहुमत जुटाउने चुनौती बढेको छ ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रयास गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका हुन्।

तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताएका छन्।जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेका हुन्।

देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकाले आफूहरूले देउवालाई समर्थन नगर्ने ठाकुरनिकट नेताले बताए।मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने ति नेताको भनाइ छ। देउवाले प्रधानमन्त्री पद दिनेमा आफूहरू विश्वस्त हुन नसकेको बताए।