काठमाडौं। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा सांसद उमाशंकर अरगरियाले नयाँ सरकार बनाउने विषयमा पार्टीले कुनै आधिकारीक निर्णय नगरेको बताएका छन्। लोकपाटी अनलाइनसँग कुराकानी गर्दै सांसद अरगरियाले आफूहरुको माग जसले सम्वोधन गर्छ उसलाई नै साथ दिने बताएका हुन्।
उनले ओली सरकारले मधेश आन्दोलनका क्रममा लागेका झुट्टा मुद्दा केही फिर्ता लिएको र अन्य माग सम्वोधन गर्ने आश्वासन दिएकाले संसदमा विश्वासको मत दिने क्रममा तटस्थ बसेको बताए।
सांसद अरगरियाले यसअघि शेरबहादुर देउवा, प्रचण्ड सरकारले आफूहरुको माग सम्वोधन गर्ने आश्वासन दिएर कुनै पनि माग पूरा नगरेको आरोप लगाए।
सोमबार मात्रै अध्यक्ष जसपा उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त वक्तव्य जारी गरेर नयाँ सरकार गठनको लागि राष्ट्रपतिलाई आव्हान गरेका थिए।
त्यसप्रति संशकिंत हुँदै जसपाका अर्को अध्यक्ष महन्थ ठाकुर पक्षले सरकार गठन गर्ने सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको र उपेन्द्र यादवले व्यक्तिगत रुपमा हस्ताक्षर गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
आज मात्र महन्थ ठाकुरले राष्ट्रपति कार्यालयमा आफ्नो हस्ताक्षर मात्र आधिकारीक हुने भनेर पत्र प्रेसित गरेका थिए।यसै सन्दर्भमा सोधिएको प्रश्नमा प्रथम अध्यक्ष नै आधिकारीक हुने भएकाले महन्थ ठाकुरको पत्र नै आधिकारीक हुने अरगरियाले बताए।



लोकपाटी न्यूज

