काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। त्यसपछि नयाँ सरकार गठन सम्बन्धमा नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग छलफल गर्ने तयारी देउवाको तयारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन्। राष्ट्रपतिले छोटो समय दिएकाले आजै कांग्रेसको बैठक बस्न लागेको छ। पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ।
‘पर्सिसम्म मात्रै समय दिइएको छ। बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं,’ नेता गोपालमान श्रेष्ठले भने। आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए।



लोकपाटी न्यूज

