नयाँ सरकार निर्माणका लागि विपक्षी गठबन्धनलाई साथ दिन्छौं : दुर्गा पौडेल

Durga poudel
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढलेलगत्तै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकेकी छिन्।

दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्‍याई नयाँ सरकार गठन गर्नुपर्नेछ। नयाँ सरकार गठनको लागि राजनीतिक सरगर्मी र रस्साकस्सी चलिरहेको बेला राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकार बनाउन विपक्षी गठबन्धनलाई नै साथ दिने बताएकी छन्।

मंगलबार लोकपाटी अनलाइनसँग कुराकानी गर्दै सांसद पौडेलले विपक्षी गठबन्धनले सरकार बनाउन सक्ने मत ल्याए पार्टीले सहयोग गर्ने बताएकी हुन्।

सांसद पौडेलले भनिन्,‘प्रतिपक्षहरुले गठबन्धन गरेर बहुमत पुर्‍याउन सक्ने अवस्था भएमा हामीले समर्थन गर्ने भनेका छौं। ‘स्थिति जटिल नै छ, तर बहुमत संख्या कसैले पुर्‍याउन सकेको अवस्था छैन, उनले भनिन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटन गरेको कदमलाई राष्ट्रिय जनमोर्चा नेपाले असंवैधानिक र प्रतिगामी कदम भनेर आन्दोलनमा सहभागि भएको थियो। केपी शर्मा ओलीले चालेका कदमलाई प्रतिगामी र संविधानको मर्म र भावना विपरीत भएको बताउँदै प्रदेशसभामा पनि निर्णायक उपस्थिति भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा पनि विपक्षी गठबन्धनको सरकार बनाउनको लागि सहयो गर्ने बताएको छ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तीनजना प्रदेशसभा सदस्य रहेका छन्। यी तीनजना प्रदेशसभा सदस्यले जुन गठबन्धनलाई साथ दिन्छन् सोही गठबन्धनको नै प्रदेश सरकार बन्ने स्थिति छ। त्यसैगरि लुम्बिनी प्रदेशसभामा पनि विपक्षी गठबन्धनलाई नै साथ दिँदै आएको छ।