काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने वातावरण बनाउन आग्रह गरेका छन्। सोमबार बिहान सिंहदरबारमा बसेको खनाल-नेपाल पक्षका सांसदहरूको छलफल सकिए लगत्तै ओली निकट नेता विष्णु पौडेलसँग अलग्गै छलफल गरेका दोस्रो पुस्ताका नेताहरूले सो आग्रह गरेका हुन्।
सोमबार ओली निकट नेता पौडेल र खनाल-नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीच छलफल भएको थियो। उनीहरू एमाले एकता कायमै राख्ने ढङ्गले वार्तामा जुटेका थिए। प्रधानमन्त्री ओली आफूहरूको मागमा सकारात्मक भए विश्वासको मत दिन संसद्मा उपस्थित हुने सन्देश उनीहरूले पठाएका छन्।
वार्तामा सहभागी नेताहरूले सकेसम्म नेपाल पक्षका सांसद प्रधानमन्त्रीको पक्षमा उभिने वातावरण बनाउन लागिएको बताएका छन्। उनीहरू ओलीबाट सकारात्मक जवाफ पर्खेर बसेका छन्। अध्यक्ष ओलीको अनुमति लिएरै एमाले सङ्गठन विभाग प्रमुख पौडेल संवादमा सक्रिय छन्। पौडेलसँगको छलफलपछि घनश्याम, योगेश र गोकर्ण लगायतका नेताहरू सिंहदरबारमै नेताहरूसँग टेलिफोन र भेटघाटमार्फत कुरा गरिरहेका छन्।
माधव नेपाललाई पनि लचिलो बन्ने गरी मनाउन उनी निकट केही सांसदहरूलाई कोटेश्वर पठाइएको थियो। २०७५ जेठ २ कै सेरोफेरोमा रहेर एमालेको विवाद मिलाउने र एउटा उच्चस्तरीय कार्यदल गठन गर्ने कुरा चार नेताको छलफलमा भएको छ।
दुवै पक्षले आ-आफ्ना शीर्ष नेतृत्वलाई जानकारी गराउने र एमालेलाई संसद्मा विभाजित अवस्थामा नपुर्याई सबै सांसद एक ठाउँमा उभिने वातावरण बनाउने प्रयास भइरहेको ती नेताले बताए। यसबीचमा ओली र माधव नेपालबीच टेलिफोनमा कुराकानी गराउने र जेठ २ को सेरोफेरोमा एमालेलाई लैजाने ढंगले सकारात्मक कुराकानी भएको नेताहरूको भनाइ छ।
वार्तामा सहभागी एक नेताले भने, ‘माधव कमरेड र भीम रावल कमरेडमा अलि समस्या देखिएको हो तर हामीले पार्टी विभाजनमा लाग्दैनौं भनेपछि उहाँहरूले मात्र निर्णय लिन सक्ने कुरा पनि भएन। जेठ २ का वरिपरि पुगेर एमालेलाई जोगाऊँ, माओवादीबाट आएका कमरेडहरूलाई पनि समायोजन गर्न सकिन्छ। यो कुरामा सम्बोधन हुनासाथ कुरा मिल्छ।’



लोकपाटी न्यूज

