प्रधानमन्त्रीजी, संसदकाे हत्या गर्ने तपाईलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ र ? : प्रचण्ड

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने बताए। प्रचण्डले यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ। तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन। उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु।’

ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको बताए। उनले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको बताए।

 अध्यक्ष प्रचण्डले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताए। उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका  कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे।