काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहका नेता घनश्याम भुसालले संसद् बैठकमा उपस्थित नहुने आफूहरूको निर्णय समर्पण नभएको बताएका छन्। आफूहरूले पार्टी एकताको पक्षमा निर्णय लिएको भुसालको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रतिनिधिसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन्। तर, एमालेको खनाल-नेपाल समूहका सांसदहरू भने संसद्मा उपस्थित भएका छैनन्। सोमबार बिहान सिंहदरबारमा बसेको खनाल-नेपाल पक्षका सांसदहरूको बैठकले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा अनुपस्थित हुने निर्णय गरेको थियो।
यसअघि खनाल-नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुनुअघि राजीनामा नदिने तर प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित नहुने निर्णय गरेको हो। जसअनुसार खनाल-नेपाल पक्षका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन गएनन्।
यही निर्णयलाई पूर्व कृषिमन्त्रीसमेत रहेका भुसालले आफ्नो समूहले गत चैत ४ र ५ गते गरेको राष्ट्रिय भेलाबमोजिम भएको दाबी गरेका हुन्। जुन निर्णय पार्टीको विभाजन तथा कसैसँग समर्पणका पक्षमा नरहेको जिकिर उनले गरेका हुन्।
भुसालले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’को अनुकूल छ।’



लोकपाटी न्यूज

