ह्वीप उल्लंघन क्षम्य हुन्न, कारबाही हुन्छ : सुवास नेम्वाङ

subash_newang_7
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आग्रह गरेका छन्। सोमबार बिहान सिंहदरबारमा बसेको खनाल-नेपाल पक्षका सांसदहरूको बैठकले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा अनुपस्थित हुने निर्णय गरेको छ।

सोही विषयमा उपनेता नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारबाहीको विषय बन्ने बताए। उनले सबै सांसदलाई संसद् बैठकमा उपस्थित हुन आग्रह गरे। अनुपस्थित रहनु संसदीय दलको ह्वीप उल्लंघन हुने र त्यो कारबाहीयोग्य विषय बन्ने उनको भनाई छ।

नेम्वाङले दलका मुख्य सचेतकले लिखित ह्वीप जारी गरिसकेको हुनाले सबै सांसदलाई अनिवार्य लागु हुने बताए। उनले भने, ‘मुख्य सचेतक विशाल भट्टराईमार्फत ह्वीप जारी भइसकेको छ। कुनै सांसद बैठकमा अनुपस्थित रहनु भएको ह्वीप उल्लंघन हो। मलाई विश्वास छ एमालेका कुनै पनि सांसद अनुपस्थित हुनु हुने छैन। उल्लंघन भयो भने कानुन बमोजिम कारबाही हुन्छ।’