काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता कोरोनाले आक्रान्त हुँदा सरकार भ्रष्टाचारमा व्यस्त रहेको आरोप लगाएका छन्। सोमबार विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले यस्तो आरोप लगाएका हुन्।
उनले भने, कोरोना महामारीले जनता आक्रान्त छन्। दैनिक संक्रमितको संख्या थपिँदै गर्दा सरकार भ्रष्टारमा व्यस्त रहयो।’ देउवाले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताए।
उनले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भत्काउने प्रयास गरेको आरोप लगाए।
सभापति देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताए। सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको उनले बताए।
‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’



लोकपाटी न्यूज

