काठमाडौं। लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले एमालेका दोस्रो पुस्ताका नेताहरू पनि मासिक भत्तामा बिक्री भएको आरोप लगाएका छन्। एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु पहिले सामूहिक राजीनामा दिने बताइएको थियो।
तर, सोमबार बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय भएको थियो। त्यस लगत्तै नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्। उनीहरूले ओली निकट नेता विष्णु पौडेलसँग एकता जोगाउने विषयमा परामर्श गरेका थिए।
सोही विषयतर्फ लक्षित गर्दै लेखक संग्रौला एमालेका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू पनि पैसामा बिकेको आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मासिक लाख रुपैयाँको लोभमा घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई जस्ता क्रान्तिकारी नेताहरू राजीनामा दिनबाट पछि हटेको बताए। मासिक भत्ताको लोभमा नै उनीहरू ओलीत्नत्र स्वीकार्न पुगेको संग्रौलाको भनाई छ।
उनले लेखेका छन्, ‘मुखले मार्क्सवाद, त्याग, समाजवाद जे भने पनि यो मूल्यको होइन, द्रव्यको राजनीति हो। राजीनामा दिँदा तलब-भत्ता गरी मासिक घटीमा एक लाखको थैलो गुम्ने भो। त्यसैले घनश्याम, गोकर्ण, योगेशादि “क्रान्तिकारी” कमरेडले बरु ओलीतन्त्र रहे रहोस्, मासिक लाख रुपैयाँ मरिगए नछाड्ने अडान लिएछन्!’




लोकपाटी न्यूज

