काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट सांसदहरुको बैठक सुरु भएको छ। संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ।
सोमबार बिहान साढे ९ बजेदेखि बैठक बस्ने भनिएको बैठक केही ढिला गरी संसद सचिवालय सिंहदरबारमा सुरु भएको छ। बैठकमा उक्त समूहका २१ जना सांसद उपस्थित छन्। अल्टिमेटमको समय सकिँदा पनि उताबाट सुनुवाइ नभएपछि खनाल-नेपाल पक्षका सांसद छलफलमा जुटेका हुन्। यो समूहले सोमबार बिहान ९ बजेसम्मको लागि ओलीलाई सच्चिन अल्टिमेटम र मध्यराती नेता नेपालले ६ बुँदे माग सहितको पत्र पठाएका थिए।
तर, ओलीले पत्र र अल्टिमेटमलाई बेवास्था गर्दै कुनै सुनुवाइ नगरेपछि खनाल-नेपाल समूहले सामूहिक राजीनामा दिने वा ‘फ्लोर क्रस’ गर्ने भन्ने विषयमा निर्णय लिन सांसदहरु छलफलमा जुटेका हुन्। यो बैठकले निर्णय लिने उक्त समूहका नेता तथा सांसद विरोध खतिवडाले बताए। सांसद खतिवडाले यदि ओली नसच्चिए सबै सांसद जम्मा भएर सामूहिक राजीनामा दिने दाबी गरे। केही सांसदहरूले राजीनामा दिन नहुने भन्ने पनि उक्त समूहभित्र आवाज उठ्न थालेको छ।
बैठकमा आज संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ। सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रुपमा नै सञ्चालन गर्नुपर्ने अडान लिँदै आएको खनाल-नेपाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको केपी शर्मा ओलीको प्रतिबद्धता खोजेको हो। अध्यक्षबाट प्रतिबद्धता नआएपछि कठोर निर्णय लिने तयारीमा नेपाल समूह छ।
ओलीले आफ्नो दायित्व र जिम्मेवारी पुरा नगरेको उक्त समूहको निष्कर्ष छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ। खनाल-नेपालका सांसद झपट रावलले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताए। अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको रावलले बताए। उनले अब एमाले एकता सकिएको प्रतिक्रिया दिए।
उनले ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको पनि बताए। रावलले भने, ‘हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौं। केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन। एकताभन्दा भाँड्ने काम भयो। पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए। अब सकियो।’
माधव समूहले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री समेत रहका पार्टी अध्यक्ष ओलीलाई बिहान साढे ९ बजेसम्मको समय दिएको थियो। तर यो बीचमा ओली समूहबाट कुनै प्रतिक्रिया नआएको रावलले बताए। ‘अब एकता हुने सम्भावना सकियो भन्दा हुन्छ। पार्टी विभाजनको डिलमा उभिएको छ। हामी स्तब्ध भएका छौं।’



लोकपाटी न्यूज

