काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले आफूहरूले दिएको समयसीमामा अध्यक्ष केपी शर्मा ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ। सो समूहका सांसदहरूले अब सामूहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन्।
‘अव हामी कुर्दैनौं। सामूहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं,’ सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो।’ खनाल-नेपाल समूहका सांसदहरू अहिले सिंहदरबारमा भेला हुँदै छन्। भेला भएपछि सामूहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए।
भेलापछि खनाल-नेपाल पक्षका सांसदहरू राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर जाँदै छन्। सहमतिका लागि अध्यक्ष ओलीसामू गरेको प्रस्तावलाई बेवास्ता गरिएपछि सांसदहरू सामूहिक राजीनामा दिन संसद् भवन जान लागेका हुन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन खनाल-नेपाल पक्षले आज बिहान साढे ९ बजेसम्मको अल्टिमेटम दिएको थियो। सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रुपमा नै सञ्चालन गर्नुपर्ने अडान लिँदै आएको खनाल-नेपाल पक्षले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको केपी शर्मा ओलीको प्रतिबद्धता खोजेको हो।
खनाल-नेपाल पक्षका सांसदको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि आज बिहान साढे ९ बजे सम्मको समय दिएको हो। नेता योगेश भट्टराईले साढे ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षले आफूहरुको मागका सम्बन्धमा प्रतिबद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिएका थिए।
आज प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ। खनाल-नेपाल पक्षले अध्यक्षबाट प्रतिबद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय लिने चेतावनी दिएको थियो। ओलीले आफ्नो दायित्व र जिम्मेवारी पुरा नगरेको उक्त समूहको निष्कर्ष छ।
ओलीले आफ्नो दायित्व र जिम्मेवारी पुरा नगरेपछि खनाल-नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारी गरेका हुन्। तर कति सांसदले राजीनामा दिने भन्ने संख्या भने अहिले बाहिर आएको छैन। हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन्। जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन्।
प्रत्यक्ष निर्वाचिन सांसदको सूची
झलनाथ खनाल (इलाम १), माधवकुमार नेपाल (काठमाडौं २), घनश्याम भुसाल (रुपन्देही ३), भीम रावल (अछाम १), सुरेन्द्र पाण्डे (चितवन १), गोकर्ण विष्ट (गुल्मी १), योगेश भट्टराई (ताप्लेजुङ), सोमप्रसाद पाण्डे (पाल्पा २), यज्ञराज सुनुवार (ओखलढुंगा), गणेश पहाडी (सिन्धुली १) जयकुमार राई (सुनसरी १), भवानी खापुङ (तेह्रथुम), पवित्रा निरौला खरेल (झापा १), जीवनराम श्रेष्ठ (काठमाडौं ८), नारायण खतिवडा (नुवाकोट १), विरोध खतिवडा (मकवानपुर २), मेटमणि चौधरी (दाङ १) हिराचन्द्र केसी (दाङ ३), दिपकप्रकाश भट्ट (कञ्चनपुर ३), राजवहादुर बुढा (दैलेख २), झपट रावल (कैलाली २), कृष्णलाल महर्जन (ललितपुर २)
समानुपातिक तर्फका सांसदहरू :
रामकुमारी झाँक्री (गुल्मी), निरादेवी जैरु (डडेलधुरा), कल्याणीकुमारी खड्का (रौतहट), गंगा चौधरी सत्गौवा (दाङ), बिनादेवी बुढाथोकी मगर (कञ्चनपुर), लक्ष्मीकुमारी चौधरी (कैलाली), मुकुन्द न्यौपाने (काठमाडौं), समिना हुसेन (रौतहट), पुष्पाकुमारी कर्ण यादव (पर्सा), कालिला खान (तनहुँ)



लोकपाटी न्यूज

