काठमाडौं। नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले खनाल-नेपाल समूहले दिएको अल्टिमेटमको कुनै अर्थ नभएको बताएका छन्। नेता नेम्वाङले माधव पक्षले आफूहरुसँग कुरा गर्दा कुनै शर्त वा अल्टिमेटम पनि नदिएको र यदि दिएको भए पनि त्यसको कुनै अर्थ नहुने बताए।
उपनेता नेम्वाङले माधव नेपालको ६ बुँदे सर्तबारे पनि आफूलाई थाहा नभएको बताए। ‘त्यस्तो कुनै शर्त पनि राख्नुभएको छैन। उहाँहरुले हामीसँग कुरा गर्दा अल्टिमेटम पनि दिनुभएको छैन,’ नेम्वाङले भने, ‘राति १२ बजे गर्नुभयो भने त्यो त हामीसँग सरोकार नै भएन।’
नेम्वाङले आफूहरुसँग कुरा गर्दा नेता नेपालले बरु ठोस प्रस्ताव ल्याउन भनेको बताए। उनले भने, ‘अनि हामीले तपाईले भनेको प्रस्ताव ठीक हो, त्यसमा छलफल गरौं, हामीले नै के गर्ने भनेर प्रस्ताव गरौं र छलफल गरौं भनेका हौ। साथै हामीले यो बीचमा ‘इरिटेसन’ हुने कुनै पनि काम नगरौं भन्यौं।’
आफूले राजीनामा साजिनामाका कुरा नगरौं भन्दा नेपालले हुन्छ वा हुन्न केही नभनेको भन्दै टाउको मात्रै हल्लाएको नेम्वाङले सुनाए। ‘म जे छ, त्यही भन्छु’, नेम्वाङले सोही कुरा अध्यक्ष ओलीलाई सुनाएको बताए।
जवाफमा ओलीले पनि टाउको मात्रै हल्लाएको नेम्वाङको भनाइ छ। ‘अध्यक्षले पनि ठीक छ भन्नुभयो, टाउको मात्रै हल्लाउनुभयो,’ रातोपाटीसँगको कुराकानीमा ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भनेका छन्, ‘कुनै नेगेटिभ कुरा गर्नुभएन।’
ओलीलाई दिएको अल्टिमेटम सकियो
नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीलाई सहमतिका लागि दिएको समयसी समाप्त भएको छ। अध्यक्ष ओलीलाई सच्चिन नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएको थियो। नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित ओलीलाई पत्र पठाएका थिए।
तोकिएको समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने नेपाल पक्षको चेतावनी छ। ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ। यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए।
आफ्ना माग पूरा नभए राजीनामा दिने निर्णयअनुसार उनीहरू संसद सचिवालयमा भेला भएका छन्। ‘हामीहरु संसद सचिवालयमा भेला भइरहेका छौं। केही नयाँ सूचना नआएको अवस्थामा राजीनामा दिन तयार भएर बसेका छौं,’ सांसद जीवनराम श्रेष्ठले भने।
नेता नेपालले आफ्ना माग सम्बोधनको आग्रहसहित ओलीलाई आइतबार मध्यरातमा पत्राचार समेत गरेका थिए। नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउने सो समूहको माग पूरा गर्न ओलीले नमानेपछि उनीहरू राजीनामाको निचोडमा पुगेका हुन्। सहमतिका निम्ति अध्यक्ष ओलीले प्रयास समेत गरेका थिए। आइतबार उनले विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाउँदै सामूहिक राजीनामा नगर्न सुझाएका थिए।
सामूहिक राजीनामा विनासको बाटो हुने सन्देश प्रधानमन्त्रीको थियो। आफ्नो अडानमा नेता नेपाल कायमै रहेपछि अध्यक्ष ओलीले आइतबार वक्तव्य जारी गरेका थिए। त्यस वक्तव्यमा माधव समूहका गतिविधिलाई अपराधको संज्ञा दिएपछि सो समूह ओलीसँग थप चिढिएको थियो।
प्रधानमन्त्री ओलीले आजै संसदमा विश्वासको मत लिने भएका छन्। त्यसका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २२ सांसद छन् भने समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित ११ सांसद छन्।
प्रत्यक्ष निर्वाचिन सांसदको सूची
झलनाथ खनाल (इलाम १), माधवकुमार नेपाल (काठमाडौं २), घनश्याम भुसाल (रुपन्देही ३), भीम रावल (अछाम १), सुरेन्द्र पाण्डे (चितवन १), गोकर्ण विष्ट (गुल्मी १), योगेश भट्टराई (ताप्लेजुङ), सोमप्रसाद पाण्डे (पाल्पा २), यज्ञराज सुनुवार (ओखलढुंगा), गणेश पहाडी (सिन्धुली १) जयकुमार राई (सुनसरी १), भवानी खापुङ (तेह्रथुम), पवित्रा निरौला खरेल (झापा १), जीवनराम श्रेष्ठ (काठमाडौं ८), नारायण खतिवडा (नुवाकोट १), विरोध खतिवडा (मकवानपुर २), मेटमणि चौधरी (दाङ १) हिराचन्द्र केसी (दाङ ३), दिपकप्रकाश भट्ट (कञ्चनपुर ३), राजवहादुर बुढा (दैलेख २), झपट रावल (कैलाली २), कृष्णलाल महर्जन (ललितपुर २)
समानुपातिक तर्फका सांसदहरू :
रामकुमारी झाँक्री (गुल्मी), निरादेवी जैरु (डडेलधुरा), कल्याणीकुमारी खड्का (रौतहट), गंगा चौधरी सत्गौवा (दाङ), बिनादेवी बुढाथोकी मगर (कञ्चनपुर), लक्ष्मीकुमारी चौधरी (कैलाली), मुकुन्द न्यौपाने (काठमाडौं), समिना हुसेन (रौतहट), पुष्पाकुमारी कर्ण यादव (पर्सा), कालिला खान (तनहुँ)



लोकपाटी न्यूज

