नेपाल समूहका सांसदहरुको बैठक बस्दै : कठोर निर्णय गर्ने तयारी

Madhav Kumar Nepal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ। माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो।

नेपाल समूहले आइतबार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवाष नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा रोकेको बताइन्छ। यद्यपि हिजै प्रधानमन्त्री ओलीले फ्लोरक्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई हानिकारक प्रयास भएको आरोप समेत लगाएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएका थिए। उक्त समयसीमामा ओलीको कुनै प्रतिक्रिया आएको छैन।

यस्तै, अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाउनका लागि नेपाल समूह अहिले सिंहदरबारमा छलफलमा जुटेका छन्। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ। कठोर निर्णयका लागि बैठक बस्न लागेको जनाएको छ। यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए।