काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको संसद्को विशेष अधिवेशन आज बस्ने भएको छ। विश्वासको मतमा आज नै मतदान हुनेछ। प्रतिनिधिसभाको बैठकमा आज दिउँसो मतदान हुँदैछ।
संसद्को पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र सभामुखले पढेर सुनाउने र विश्वासको मतका लागि समय तोक्ने कार्यक्रम छ। दोस्रो बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न समय दिइनेछ। नेताहरूले बोलेपछि विश्वासको मत लिने प्रस्तावमा मतदान हुने स्रोतले जनाएको छ।
प्रतिनिधिसभा नियमावली, २०७५ मा तोकिएको दिन र समयमा सभामुखको अनुमति लिई प्रधानमन्त्रीले सो सम्बन्धमा आफ्नो वक्तव्य दिई सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र विश्वासको मतमा छलफल गर्न सभामुखले समयावधि निर्धारण गर्ने व्यवस्था छ।
जसअनुरुप दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्य दिई विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। सभामा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री वा उनले तोकेका मन्त्रीले दिनेछन्। त्यसपछि सभामुखले प्रधानमन्त्रीमाथि सभाको विश्वास छ वा छैन भन्ने प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गर्र्नेछन्। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने व्यवस्था छ।
आजको मतदान प्रक्रियाले ओली सरकार टिक्ने कि ढल्ने भन्ने निर्णय गर्नेछ। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने सम्भावना बढेको छ। प्रतिनिधिसभामा मतदान गर्नुपर्ने सदस्यहरुको संख्या २६६ रहे पनि अस्पतालमा रहेका झलनाथ खनाल कोरोनाका कारण झापामा आइसोलेसनमा रहेका राप्रपा सांसद राजेन्द्र लिङदेनले मतदानमा सहभागिता जनाउने सम्भावना छैन। अन्य केही सांसदहरुको पनि अनुपस्थिति हुन सक्छ। किनकि, चौथो ठूलो दल जसपाले आफ्ना सांसदहरुलाई ह्विप नलगाउने र तटस्थ बस्न सक्ने भनेको छ।
प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ। १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउने छन् र पदमुक्त हुनेछन्। अहिलेसम्मको संसदीय गणितलाई हेर्दा एमालेसँग १२१ भोट छ। यसमा १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ। जबकि जसपाले तटस्थ बस्ने निर्णय नै गरिसकेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना लगभग टर्दै गइरहेको छ।
नेकपा एमालेकै माधव–झलनाथ समूहले सामूहिक राजीनामा दिने तयारी गरिरहेको छ। सो समूहले राजीनामा दियो भने केपी ओलीले बहुमत पाउने सम्भावना रहनेछैन। माधव समूहले केपी ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ।



लोकपाटी न्यूज

