ओली र नेपाल पक्षबीच निर्णायक वार्ता जारी, के होला राजीनामा ?

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच सिंहदरवारमा निर्णायक वार्ता भइरहेको छ। नेकपा एमाल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद राजीनामा बुझाउन संघीय संसद्‍को सचिवालय, सिंहदरबारमा पुगेका थिए।

उनीहरुको राजीनामा रोक्न ओलीले विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार पठाएका थिए। पौडेल नेम्वाङ पुगेपछि नेता नेपाल पक्षका नेताहरु रोकिएर उनीहरुसँग छलफलमा जुटेका छन्। राजीनामाको तयारीमा रहेका सांसद भने सिंहदरबारमै रहेको अर्को कोठामा छन्। वार्ता भइरहेको भए पनि नेपाल पक्षका सांसदहरुले राजीनामा दिने भन्दै हस्ताक्षर सहितको पत्र नेपाललाई बुझाएका छन्।

नेपाल निकट एक नेताका अनुसार राजीनामाको अन्तिम तयारी भइसकेको छ भने अब संसद सचिवालयमा बुझाउन मात्रै बाँकी छ। ‘निर्णय त भई नै सक्यो। अब अझै पनि छलफल गरेर अन्तिम निर्णय गरौ भनेर हो। हस्ताक्षर त हामीले बुझाइसकेका छौं। अहिले वार्ता भइरहेको छ हेरौ,’ नेपाल निकट एक नेताले भने। उनका अनुसार करिब २० जनाको हस्ताक्षर संकलन भएको छ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यले आज ६ घण्टा लामो संवाद गरेका थिए। केहीबेर अघि नेपाल पक्षका नेताबीच भर्चुअल छलफल सकिएपछि सांसदहरु राजीनामा दिन संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्। एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन्। छलफल सुरु भएकाले अहिलेलाई त्यो रोकिएको छ।

नेपालले प्रत्यक्षतिर २२ सांसदहरूले राजीनामा बुझाएपछि संसदको संख्या घट्ने र वैकल्पिक सरकार बनाउन सहज हुने आँकलन गरिएको छ। नेपालले प्रत्यक्षतर्फ नै आफूसँग २५ सांसदहरू रहेको भन्दै देउवासमक्ष सूची बुझाइसकेका छन्।

नेपाल पक्षले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पष्ट पारेका छन्। फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशान गरेका थिए। ओलीले संसद्‌मा निर्वाचित नेपालसहित तीसजनालाई स्पस्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्।

आइतबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर जनता समाजवादी पार्टी (जसपा) नेताले भने विश्वासको मतमा पार्टी तटस्थ बस्ने बताएका छन्। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता बालुवाटार पुगेर उपेन्द्र यादवको कुरामा नलाग्न आग्रह गर्दै पार्टी तटस्थ बस्ने बताएका हुन्।