‘पौडेल र नेम्वाङ पनि संसद सचिवालयमा पुगे’

Paudel_Nemwang
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबार पुगेका छन्। आइतबार दिउँसो ३ बजेदेखि खनाल-नेपाल पक्षका सांसदहरु संसद् सचिवालयमा जम्मा भइरहेका छन्।

उनीहरु सामूहिक राजीनामाका लागि संसद्‍ सचिवालयमा पुगेको बताइएको छ। राजीनामा बुझाउन उनीहरु सिंहदरबार पुगेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा रोक्न पौडेल र नेम्वाङलाई सिंहदरबारमा पठाएका हुन्। प्रधानमन्त्री ओलीले सोमबार विश्‍वासको मत लिनका लागि सोमबार विशेष अधिवेशन बोलाएका छन्।

तर, अधिवेशन अघि नै नेपाल पक्षका सांसद राजीनामा दिने तयारी गरेका छन्। केहीबेर अघि नेपाल पक्षका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्। अहिलेसम्म माधवन नेपाल, योगेश भट्टराई र सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, पवित्रा निरौला लगायत सांसद सचिवालयमा पुगिसकेका छन्।

पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ। २०७५ जेठ, २ को अवस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन्।

यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मत संख्या पुग्दैन। संसद्‍मा एमालेका १२१ सांसद छन्। विश्वासको मत पाउन १३६ मत चाहिन्छ। यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ। कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।