काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भइरहेका छन्। राजीनामा दिने चर्चा चलिरहेका बेला खनाल-नेपाल पक्षका सांसदहरु संसद् सचिवालयमा जम्मा भइरहेका हुन्। आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा उनीहरु जम्मा हुन थालेका हुन्।
वरिष्ठ नेता नेपाल पनि केहीबेर अघि संसद् सचिवालयमा पुगेका छन्। सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायत छन्। केही सांसद भने सिंहदरबार नजिक रहेको बताइएको छ। उनीहरु बिहानैदेखि आन्तरिक छलफलमा थिए।
खनाल-नेपाल निकट एक सांसदले भने, ‘पार्टीको स्थायी कमिटी बैठक चलिरहेको छ। त्यो बैठकको के निर्णय आउँछ भनेर हामी पर्खिरहेका हौं।’ एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले आफूनिकट नेताहरुसँग परामर्श जारी राखेका छन्। कोभिड-१९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह-समूहमा छलफल गरिका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्।
२ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन्।
यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मत संख्या पुग्दैन। संसद्मा एमालेका १२१ सांसद छन्। विश्वासको मत पाउन १३६ मत चाहिन्छ।
यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ। कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।



लोकपाटी न्यूज

