मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता

Shankar_Pokharel
फाइल तस्बिर
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन्।

प्रस्तावमा ४० जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर रहेको छ। नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ। मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ। यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ। प्रदेशसभाका २ सदस्यको राजीनामा र एकको पार्टी परिवर्तनपछि हाल एमाले ३८ सदस्यमा खुम्चिएको छ। विपक्षी दलले मुख्यमन्त्रीले ३ जनाको किर्ते हस्ताक्षर बुझाएको भन्दै उनीहरुले त्यसको छानबिनसमेत माग गरेका छन्।