काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक आव्हान गरेका छन्। प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकका एजेण्डा बारे मन्त्रीहरुलाई जानकारी गराइएको छैन।
एजेण्डा नखुलाइएका कारण केही महत्वपूर्ण निर्णयका लागि बैठक बोलाइएको हुन सक्ने एक मन्त्रीले बताए। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन साथ दिने बताउदै आएका जनता समाजबादी दलमा महन्थ ठाकुर यति वेला अल्पमतमा परेका छन्।
निश्चित प्रतिशत नपुग्दा उनले दल विभाजन गर्न नमिल्ने र उनिमाथि उपेन्द्र यादवले कारवाही गर्न सक्ने जोखिम बढेपछि ठाकुरलाई दल विभाजन गर्न सहज पार्न दल विभाजन सम्वन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले बैठक बोलाएको हुन सक्ने आँकलन गरिएको छ। तर उनले त्यो अध्यादेश ल्याउँदा उनकै दलका माधव नेपाल पक्षलाइ थप सजिलो हुने विश्लेषण गरिएको छ।
जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ। जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन्। पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन्।
महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए। ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने। जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन्। ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन्। उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन्। जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन्। पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन्।
पूर्वराजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन्। यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन्। पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए।



लोकपाटी न्यूज

