काठमाडौं। नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन छलफल तीव्र पारिएको छ। विश्वासको मत लिने मिति नजिकिँदै जाँदा एमालेका दुई पक्षका नेताहरूले संवाद बढाएका छन्। आफू अप्ठ्यारोमा परेपछि ओलीले आफ्नो बचाउका लागि पार्टीका वरिष्ठ नेता नेपाल पक्षका नेतासँग गुहार माग्न थालेका छन्।
शुक्रवार पनि ओली पक्षले नेपाल पक्षसँग वार्ता गर्ने सम्भावना रहेको बुझिएको छ। तर वार्ताबारे अहिलेसम्म समय र स्थान निश्चित नभएको दुवै पक्षले बताएका छन्। ओली पक्षका नेता सुवास नेम्वाङले एमाले एकताका लागि बाटोहरू सहज बन्दै गएको बताएका छन्। त्यसका लागि शुक्रवार पनि छलफल हुने बताए। तर समय र स्थान निश्चित नभएको उनको भनाई छ।
नेता सुरेन्द्र पाण्डेले पनि पार्टी एकतालाई आधार मानेर छलफल अघि बढाएको तर ओलीसँग सम्झौता गर्ने अवस्था नरहेको बताए। यद्यपि ओलीले बिहीबार राति नेपाल पक्षसँग तिक्तता घटाउने उपायहरूबारे परामर्श गरिरहेका छन्। बिहीबार राती नेपाल पक्षका प्रभावशाली नेता घनश्याम भुसाल र योगेश भट्टराईसँग ओलीले तीन घण्टा बढी समय छलफल गरे। भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताएका थिए।
भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका थिए। तर ओलीले भने त्यसमा कुनै जवाफ दिएका थिएनन्। प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री विष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गरेका थिए। पौडेलले बिहीबार नै नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग समेत कुराकानी गरेका थिए।
नेपाल पक्षीय नेतासँग अर्थमन्त्री पौडेलले पार्टी विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव राखेका थिए। तर नेपाल पक्षीय नेताले भने कार्यदललाई स्पष्ट कार्यादेश दिनु पर्ने भनेका थिए। त्यसमा भने पौडेल सहमत हुन नसकेको स्रोतको भनाइ छ। आफूहरूले जेठ २ मा फर्किनु पर्ने स्पष्ट अडान राखे पनि ओली पक्षीय नेताहरूले बिचको बाटो रोज्न मात्रै प्रस्ताव गरेको बुझिएको छ।
नेता भुसालका अनुसार कुराकानी राति साढे ११ सम्म चलेको छलफलमा ठोस सहमति बनिसकेको छैन। यद्यपि कुराकानीमा प्रगति भइरहेको उनले बताए। ‘सौहार्द कुराकानी नै भयो, तर कुरो मिलेन,’ भुसालले भने, ‘उहाँलाई हामीले कारबाही फुकुवासँगै यो बिचमा गरिएका मनलाग्दी नियुक्तिहरू फिर्ता लिन भन्यौं, उहाँले विश्वासको मत दिन भन्नुभयो।’
पार्टीभित्रको विवाद समाधानकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता नेपालसँग छलफल गरेकी थिइन्। त्यो छलफलसमेत सकारात्मक नभएको नेपालनिकट स्रोतले बतायो। राष्ट्रपति भण्डारी र वरिष्ठ नेता नेपालबीच राती साढे १० बजेसम्म छलफल भएको थियो। विवाद समाधानकै लागि बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए।
माधव नेपाल निकट एक नेताका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन्। उनले एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन्। ओलीले आजै दिउँसो बालुवाटारमा आफू निकटस्थको अनौपचारिक बैठक डाकेका छन्। ओलीनिकट एक नेताले नेपाल पक्षमाथिको कारबाही फुकाउने एजेण्डाका लागि त्यो बैठक डाकिएको बताए।



लोकपाटी न्यूज

