काठमाडौं। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्। शीर्ष नेताहरूको बैठक केहीबेरमा बस्दैछ।
बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको एमाले स्रोत बताउँछ। बैठकले समसामयिक राजनीतिका बारे पनि समीक्षा गर्नेछ।
उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन। यसैबिच पार्टीभित्र देखिएका विवाद हल गर्नेबारे पनि एमालेमा पछिल्लो पटक नेताहरूले संवाद थालेका छन्। गत फागुन २८ गते अध्यक्ष ओलीले माधव नेपाल पक्षविनै महाधिवेशन घोषणा गर्ने, विधान संशोधन गर्नेलगायत निर्णय गरेका थिए।
साथै ओलीले हालै नेता नेपाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटी पनि गठन गरेका थिए। फागुन २८ का निर्णयबाट ओली पछि हट्नुपर्ने अडानमा नेता नेपाल पक्ष छ। साथै ओलीले नेपाल पक्षका केही सांसदहरूलाई स्पष्टीकरण पनि सोधेका थिए।



लोकपाटी न्यूज

