कमिसन नमिलेर कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनायो : कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री निकट व्यवसायीहरूले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित बनाएको बताएका छन्। नेता कोइरालाले महामारीको कहालीलाग्दो समयमा जनतामाथि धोका भएको बताए।

‘कमिसन नमिलेकै कारण प्रधानमन्त्री कपी ओली निकट व्यवसायीहरू विजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकको भन्ने खबरले लज्जित बनाएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?’

अघिल्लो वर्षको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा घोटला भएको उल्लेख गर्दै यस्ता अपराध क्षम्य हुन नसक्ने कोइरालाको भनाई छ। ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो,’ उनले भनेका छन्, ‘देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायामा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।’

व्यवसायीको नाममा भएका सबै अपराधको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनको तर्क रहेको छ। ‘यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्,’ कोइरालाले भनेका छन्।