काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। उनी केहीबेरअघि देउवा निवास पुगेका हुन्।
प्रधानमन्त्री ओलीका संचार विज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री ओली केहीबेरअघि देउवा निवास पुगेको बताए। प्रधानमन्त्री ओली देउवालाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङलाई साथमा लिएर बूढानीलकण्ठ पुगेका हुन्।
वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने निर्णय भएको अवस्थामा ओली दलबलसहित देउवालाई भेट्न गएका हुन्। यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफैँ उनको निवास पुगेका हुन्। बुढानिलकण्ड जानुअघि एमाले नेताहरुले बालुवाटारमा छलफल गरेका छन्।
कांग्रेसले ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। विश्वासको मत लिने ओलीको योजनालाई असफल बनाउन गठबन्धन गर्ने प्रयास जारी छ। ओलीलाई सत्ताबाट निकाल्नका लागि कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटिरहेका छन्। मंगलबार बसको कांग्रेस पदाधिकारी बैठकले ओलीको विश्वासको मतको विपक्षमा जाने निर्णय गरिसकेको छ।
यतिमात्र होइन ओलीविरुद्ध चार दलले आगामी राष्ट्रियभाको निर्वाचनमा समेत मोर्चाबन्दी गरिसकेका छन्। यही तयारी बुझेका ओलीले अन्तिम प्रयासस्वरुप देउवालाई भेटका हुन्। नेताहरुबीच अहिले कुराकानी भइरहेको देउवाको सचिवालयले जनाएको छ।



लोकपाटी न्यूज

