काठमाडौं, १३ माघ । पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक सक्रियता बढ्दै गएको छ । दुईतिहाई बहुमतको सरकारले जनअपेक्षा पूरा गर्न नसकेको गुनासो बढिरहेका बेला पूर्वराजाले त्यसको फाइदा उठाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
अंग्रेजी नयाँ वर्षमा पोखरा पुगेका ज्ञानेन्द्र आइतबार फेरि सिमरा हानिएका छन् । देश दौडाहामा निस्किएका ज्ञानेन्द्र आन्तरिक भेटघाटमा निकै व्यस्त हुने गरेका छन् । भेटघाटका क्रममा उनले आफ्ना समर्थक र कुटनीतिक वृत्तका मानिसहरुसमेत भेट्न थालेका छन् ।
सिमरा निस्किएका ज्ञानेन्द्र पूर्वी क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्किने कार्यतालिका रहेको स्रोत बताउँछ । उनी पूर्व तराईका जिल्लाको भ्रमण गर्नेछन् । सिमरास्थित प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ ।
पूर्वराजाको साथमा पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमिल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सिमरामा पुगेका छन् । सिमरा रहँदा उनले विभिन्न शक्तिपिठको दर्शन गर्नेछन् ।
पोखरा भ्रमणमा रहँदा उनले घनिभूत राजनीतिक छलफल गरेका थिए । शाहले पोखरामा नेपाली कांग्रेसका पूराना कार्यकर्तासँग समेत भेटघाट गरेका थिए । भेटका क्रममा राजावादी समूह र राप्रपाका नेताहरुसँग समेत उनले परामर्श गरेका थिए । भेटका क्रममा राजतन्त्रप्रतिको दृष्टिकोण र बाहिरी वातावरणबारे उनले जिज्ञासा राख्न थालेका छन् ।
नेपाली कांग्रेसको महासमिति बैठकमा बहुमत महासमिति सदस्यले हिन्दू राज्यको पक्षमा हस्ताक्षर अभियान नै चलाएपछि पूर्वराजा थप हौसिएको स्रोत बताउँछ । कांग्रेसको एउटा समूह कम्युनिष्ट आउनुभन्दा बरु राजा नै ठीक भन्ने ठाउँमा पुगेकाले आफ्ना लागि अनुकूल वातावरण बन्दै गएको राजावादी समूहको ठहर छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला नै हिन्दू राज्यको पक्षमा खुलेआम उत्रिएपछि राजावादी समूहलाई थप बल मिलेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राजतन्त्रको सपना नदेख्ने राजावादी समूहलाई चेतावनी दिँदै आएका छन् ।
सरकारविरुद्ध भइरहेको मोर्चाबन्दीले ज्ञानेन्द्र शाहलाई बल पुगेको राप्रपाको ठहर छ । दक्षिणपन्थी कित्ताबाट राप्रपा र कांग्रेस अनि वामपन्थी कित्ताबाट विप्लव समूहले एकैचोटी प्रहार गर्दा राजनीतिक अस्थिरता निम्त्याउन सकिने र त्यसकै बलमा राजतन्त्रको मुद्दा उठाउन पूर्वराजाले कसरत गरिरहेको कतिपयको विश्लेषण छ ।
तर, अहिलेको सरकार संसदीय गणितमा मात्रै बहुमतमा छैन । राज्यका अधिकांश अङ्गहरुमा समेत बलियो पकड जमाएको छ । सैनिक ‘कू’ हुने परिस्थितिमा बाहेक सरकारलाई प्रतिस्थापन गर्न सकिने कुनै सम्भावना छैन । तर, पनि अस्थिरताका बलमा फेरि आउन सकिन्छ कि भनेर पूर्वराजाले घनिभूत कसरत गरिरहेका छन् ।



लाेकपाटी न्यूज

