यादव निवासमा पुगे प्रचण्ड र नेपाल

Prachanda_Nepal_yadab
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि विश्वासको मत लिन संसद्को विशेष अधिवेशन आह्वान गरेपछि नेताहरूको भाग दौड सुरु भएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि त्यसबारेमा भावी रणनीति तय गर्न नेताहरू परामर्शमा जुटेका हुन्।

सोही क्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार नेपाल छलफलमा जुटेका छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसद्मा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरूको बिचमा छलफल भइरहेको जसपा स्रोतले जनाएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा रहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रूपमा निरन्तरता दिने पक्षमा छन्। तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा रहेका छन्।

​माओवादी केन्द्रले बुधवार नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वास मतमा के गर्ने भनी आधिकारिक निर्णय गर्न सकेको छैन।