अध्यादेश संविधानको मर्म र लोकतन्त्रको उपहास : डा. रावल

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले प्रतिनिधिसभाको अधिवेशन सुरु हुनु केही दिनअघि एकै पटक सात वटा अध्यादेश जारी भएपछि आपत्ति जनाएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबा सात वटा अध्यादेश जारी गरेकी थिइन्।

यसरी अध्यादेश जारी हुनुलाई एमाले नेता रावलले संविधानको मर्म र लोकतन्त्रको उपहास भएको रूपमा टिप्पणी गरेका छन्। संसद् अधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरिनु लोकतन्त्रको उपहास भएको रावलको भनाई छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संसद्को अधिवेशन अनिवार्य आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी! संविधानको मर्म र लोकतन्त्रको उपहास!’

गत सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने जानकारी गराएका थिए। ओलीको सिफारिसअनुसार वैशाख २७ गते संसद् अधिवेशन पनि आव्हान भइसकेको छ। यही बिचमा मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले सात वटा अध्यादेश जारी गरेपछि नेता रावले त्यसलाई उपहासको संज्ञा दिएका हुन्।