बिना अवरोध बैठक सञ्चालनका लागि प्रयास थालिँदै

Ganesh Timalsina01
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ । राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको सङ्घीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए ।

यही माघ ११ गते प्रतिनिधिसभा बैठकबाट प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बाबजूद चिकित्सा शिक्षा विधेयक पारित भएपछि सत्तापक्ष र प्रमूख प्रतिपक्षी दलबीच केही दूरी बढेको देखिएको छ । प्रमूख प्रतिपक्षी दल काँग्रेसले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभाको सोमबार बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गरिने सम्भावित कार्यसूची छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमतिको प्रयास भए पनि सत्तापक्ष र प्रतिपक्षको अडान भने यथावत छ ।

आफ्ना माग सरकारबाट सुनुवाइ नभएको भन्दै अडान यथावत रहेको काँग्रेसका सांसद बद्री पाण्डेले जानकारी दिए । सरकारले समस्या सुल्झाउने हो भने अझै ठाउँ रहेको उल्लेख गर्दै उनले हतारिएर प्रतिवेदन पेश नगर्न सत्तापक्षलाई आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्