बुटवल। नेपाल प्रहरीका डिआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात गरेको भन्दै महिला सांसदहरूले त्यसको कानुनी उपचार खोज्ने बताएका छन्। मुख्यमन्त्रीको शपथ रोक्न धर्नामा बसेका महिला सांसदहरूले प्रहरीले आफूमाथि हातपात गरेको आरोप आइतबार लगाएका थिए।
बुटवलमा सोमबार पत्रकार सम्मेलनमा उनीहरूले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यस विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्।
प्रहरीसँग भएको झडपमा नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्री लौटी थारु पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगामगर र दिपेश थारुलगायत महिला सांसदमाथि डिआईजी धानुकको नेतृत्वमा आक्रमण भएको थियो। महिला सांसदलाई धानुकले महिला प्रहरी प्रयोग गर्नुको सांटो आफै धकेल पकेल गरेका थिए। उनीहरूले धानुकको शैलिको चर्को आलोचना गरेका हुन।
डिआईजी धानुक नेपाल प्रहरीभित्र विवादित प्रहरी अधिकारी भनेर चिनिन्छन्। उनी माओवादी नेता जर्नादन शर्मा निकट छन्। उनकै पहलमा धानुकलाई पाँच नम्बर प्रदेशको प्रमुख बनाइएको थियो। पछिल्लो समय उनको लुम्बिनी प्रदेशमा तस्करीका घटनामा समेत नाम जोडिएको छ।
नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगा मगर र राजमो नेता तारा जीसीले संयुक्त विज्ञप्ति निकाली घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको माग समेत गरेका छन्। काँग्रेस सचेतक क्षत्रीले सांसदमाथि हातपात गर्ने प्रहरीले नागरिकमाथि कस्तो दमन गरेका होला भन्दै घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताइन्।
लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव शपथ ग्रहणका लागी मुख्यमन्त्री कार्यालयमा जान खोज्दा सांसदहरूले अवरोध गर्नुका साथै नाराबाजी गरेका थिए। त्यसक्रममा धकेलाधकेल समेत भएको थियो। त्यसमा प्रहरीका डिआईजी धानुकले नै आक्रमण गरेको महिला सांसदहरूले आरोप लगाएका छन्।



लोकपाटी न्यूज

