काठमाडौं। प्रदेशमा नयाँ सरकार बनाउने कसरत जारी छ। नेकपा एमाले र माओवादी केन्द्रको बिचको एकीकरणलाई सर्वोच्च अदालतले अवैधानिक ठहर्याएपछि प्रदेशमा सरकार फेर्ने प्रयास औपचारिक रूपमा अघि बढेको थियो। अदालतले एकीकरणलाई भंग गरिदिएपछि पार्टीदेखि सदनसम्म एमाले र माओवादीको कित्ता छुट्टिएको छ। तत्पश्चात् सरकार फेरबदलको कसरत निरन्तर जारी छ।
विभिन्न प्रदेशमा रहेका वर्तमान सरकारविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर एक ठाउँमा उभिएका छन्। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि त्यही पार्टीले प्रदेश-२ बाहेक सबै प्रदेशमा आफ्नो सरकार बनाएको थियो। एमाले र माओवादी ब्यूँतिएपछि केही प्रदेशमा गठबन्धनको सरकार बनाउने प्रयास थालिएको हो। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँग्रेसको सहयोगमा सत्ता जोगाएका छन्।
पछिल्लो समय लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा विपक्षी दलले सरकार बनाउने प्रयत्न गरिरहेका छन्। गण्डकी प्रदेशमा सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा मतदान गर्न बोलाइएको प्रदेशसभा बैठक अघि राष्ट्रिय जनमोर्चा नेपालका एक सांसद सम्पर्कविहीन भएका थिए। जनमोर्चाले आफ्ना सांसद अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद् बैठक स्थगित गर्न माग गरेपछि उक्त बैठक स्थगित भएको थियो। अज्ञात रहेका जनमोर्चाका सांसद खिमबिक्रम शाही अस्पतालमा भेटिएका थिए।
शाहीको अवस्थाबारे बुझ्न जाँदा पार्टीका कुनै पनि प्रतिनिधिलाई भेट्न नदिइएपछि जनमोर्चाले आफ्ना सांसद अपहरणमा परेको दाबी गरेका थिए। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीका गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीलाई नेकपा एमालेले अपहरण गरेको आरोप लगाएका थिए। प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा छलफल चलिरहँदा सांसद शाही अज्ञात रहेका सांसद पछि अस्पतालमा बन्दी बनाएर राखिएपछि अध्यक्ष केसीले यस्तो प्रतिक्रिया दिएका थिए।
केसीले भनेका थिए, ‘एमालेले नांगो प्रदर्शन गरेको छ। मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन। हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ। १२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ। मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ। हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन। यसले यसको गम्भीरता देखाउँछ।’
बेपत्ता पारिएका शाह पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका थिए। केसीले अगाडि भनेका थिए, ‘फेरि त्यो त एमालेकै अस्पताल पनि हो। त्यहाँ अस्पतालमा मिलेमतो कति छ ?’ जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकी प्रदेशका सांसद शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरूले अपहरण गरेको आरोप लगाएका थिए। भट्टले भनेका थिए, ‘उहाँलाई अपहरण गरेर अविश्वासको प्रस्ताव फेल गर्ने सरकार पक्षको षडयन्त्र हो।’
केसीले एमाले पहिले देखि नै गुण्डागर्दीको केन्द्र भएकोले उनीहरूको लागि यो सामान्य भएको बताए। यसअघि पनि समाजवादी पार्टी नेपालका सांसदलाई पनि ओली निकट एमाले नेताहरूले जनकपुरबाट अपहरण गरेर काठमाडौं पुगाएको आरोप उक्त पार्टीका नेताहरूले लगाएका थिए। सोही विषय तर्फ लक्षित गरेर जनमोर्चाका नेताहरूले एमालेका केही नेताहरू पहिले देखि नै गुण्डागर्दी र अपहरणमा संलग्न रहेकोले आफ्ना सांसदको पनि एमालेका नेताहरूले अपहरण गरेको आरोप लगाएको थिए। भट्टले भनेका थिए, ‘एमालेमा यस्तो खेती चलिरहन्छ। तर, उनलाई त भेट्न पाउनुपर्यो नि! अपहरण गरेर राखेको हुनाले भेट्न नदिएको हो भन्ने हाम्रो बुझाइ छ।’



लोकपाटी न्यूज

