अल्पमतमा रहेका मुख्यमन्त्रीको नियुक्ति कांग्रेसले स्वीकार्दैन : शेखर कोइराला

Shekhar Koirala
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लुम्बिनी प्रदेशमा एमालेले संविधान मिचेर सत्ताको नांगो नाँच प्रदर्शन गरेको बताएका छन्। कोइरालाले लुम्बिनीको राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै संविधानमाथिको यस्तो नांगो नाँच कांग्रेसलाई स्वीकार्य नहुने बताए।

गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ गराइएको उनले बताए। ‘गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ, कोइरालाले भने।

विपक्षी दलको गठबन्धनले आफ्नो पक्षमा रहेका सांसदहरूको समेत किर्ते हस्ताक्षर देखाएर पोखरेल फेरि मुख्यमन्त्री बनेपछि उनीमाथि नैतिक प्रश्न उठाएको छ। आफ्नो पक्षमा रहेको दाबी गरेका सांसदले समेत पोखरेलको साथ छोडेको घोषणा गर्दा उनले मुख्यमन्त्री बन्न किर्ते गरेको आरोप लागेको छ। पद र सत्ताको लागि पोखरेलले असंवैधानिक कदम उठाएको टिप्पणी हुन थालेको छ।