तीन सांसदलाई ओलीले साेधे फेसबुकबाटै स्पष्टीकरण

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले संसदीय दलको तर्फबाट थप सांसदलाई स्पष्टीकरण सोधेको छ। एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी नेता माधवकुमार नेपाल पक्षका तीन सांसदलाई स्पष्टीकरण सोधेको हुन्। ओलीले यसअघि नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

यस पटक कार्यालय सचिव शेरबहादुर तामाङमार्फत सांसदहरूलाई स्पष्टीकरण पत्र पठाएका हुन्। तामाङले संसदीय दलको तर्फबाट वैशाख १६ गते सांसदहरू समिना हुसने, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण पत्र पठाएका हुन्। तामाङले स्पष्टीकरण पत्र फेसबुक म्यासेन्जरबाट आफूलाई पठाएको सांसद कलिला खातुनले बताइन्।

आफूलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको सांसद खातुनले बताइन्। समिना हुसेनले भने आफूले स्पष्टीकरणको जवाफ दिइसकेको बताइन्। उनले माधव नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफू सहभागी भएकै कारण स्पष्टीकरण सोधिएको हुनसक्ने बताइन्। ‘जीवनमा पहिलो पटक स्पष्टीकरण खाइयो। जागिरमा पनि स्पष्टीकरण खाइएको थिएन’, हुसनेल भनिन् , ‘म एमालेमा सधैँ छु, सधैँ रहन्छु। अरू कुनै गतिविधिमा हिँडेको छैन भनेर जवाफ दिएको छु।’

त्यस्तै गंगा चौधरीले भने आफू मूल पार्टीमा रहेको बताइन्। उनले स्पष्टीकरण सोधिए पनि त्यसलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिइन्। प्रतिनिधि सभाका सांसदको स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय गर्ने एमालेले जनाएको छ।