लुम्बिनी। लुम्बिनी प्रदेशका स्वतन्त्र दुई सांसदले आफूहरू नेकपा एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन्।
कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले विज्ञप्तिमार्फत् आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको बताएका छन्। हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन लडेपनि आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए।
तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन्। उनीहरुले कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।




लोकपाटी न्यूज
