कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाई छ। उनकाअनुसार १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए। कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले निर्णय दिएको छैन।

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको छ। केही दिनअघि सभापति देउवाले संख्या नपुगेकोले अविश्वास प्रस्ताव नलगेको बताएका थिए। यसैबीच प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेकी छन्।