‘डा. केसी सत्याग्रही होइनन्, कांग्रेस कार्यकर्ता हुन्’ : मन्त्री बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं । सरकारका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयकका विरुद्ध अनशन बसिरहेका डा. गोविन्द केसी सत्याग्रही नभएर कांग्रेसका कार्यकर्ता भएको बताएका छन् ।

आइतबार राजधानी दैनिकलाई दिएको अन्तर्वार्तामा बाँस्कोटाले डा. केसी सत्याग्रही नभएको आरोप लगाएका हुन् । अन्तर्वार्तामा बाँस्कोटाले भनेका छन्, ‘गोविन्द केसीले माग गरेभन्दा बढी नेपाली जनताले धेरै राहत र सुविधा पाउने गरी सो विधेयक पारित भएको छ । अब अनशन बस्नुको कुनै तुक छैन ।’

अन्तर्वार्तामा बाँस्कोटाले थपे, ‘विधेयक राम्ररी हेरौं त उनले मागेको भन्दा बढी अग्रगामी भएर आएको छ । सबै माग पूरा भए पनि केसीले द्वन्द्वकालीन मुद्दा किन अघि नबढाउने भनेर अर्कोतर्फ अघि बढिरहेका छन् । त्यसैले, केसी सत्याग्रही होइनन् । विशुद्ध कांग्रेस कार्यकर्ता हुन् ।’

सरकारको विरोधतिर लक्षित गर्दै बाँस्कोटाले भने, ‘हेर्ने आँखाहरू नै अत्यन्तै पूर्वाग्रही छन् । ती आँखा र मनले विकास र समृद्धि चाहँदैन । सधैं धमिलो पानीमा माछा मारेर खान पल्केकाहरूले पानीलाई सफा बनाउने र विकास गर्ने सरकारको अभियानलाई नरुचाएका हुन् । हामी त्यस्ता तत्वलाई भण्डाफोर गर्दै अघि बढ्छौं ।’

मन्त्री बाँस्कोटाले भने, ‘अर्थमन्त्री र सरकारको तथ्याङ्कलाई आधिकारिक मान्न नसक्ने ती कुतत्वबाट परिचालन भएका छन् भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । जनतामा कुनै निराशा छैन । केही पनि नभएको देख्ने चाहिँ यहाँको एउटा एलिट वर्ग हो । तिनको होहल्लामा मिडिया पनि फस्न पुगेको छ ।’

‘कांग्रेसले द्वन्द्वकालीन मुद्दाको बारेमा माग उठाउन सकेको छैन । त्यसैले, कांग्रेसको माग केसीले उठाएका छन्’ बाँस्कोटाले भने, ‘यस्तै हो भने अब केसीले प्रतिपक्ष दलका नेता शेरबहादुरजीलाई पनि उछिन्न बेर छैन ।’

दुईतिहाईको दम्भ देखिएको भन्ने प्रतिपक्षीको आरोपको उनले खण्डन गरे । बाँस्कोटाले भने, ‘यो कांग्रेसको हावादारी आरोप हो । कांग्रेसले भनेको नमानेको आधारमा दम्भ भनिएको हो भने कांग्रेसले नै सरकार चलाए भयो नि । कांग्रेसले भनेको मान्नका लागि यो सरकार बनेको होइन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्