काठमाडौं। नेकपाकी सांसद बिमला ओलीले माओबादी केन्द्र पार्टी रोजेपछि अप्ठ्यारोमा परेका लुम्बिनी प्रदेशका निर्बमान मुख्यमन्त्री शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेका छन्। पोखरेल अल्पमतमा परिसकेको जानकारी पाएका प्रदेश प्रमुख धर्मनाथ यादबले राष्ट्रपति बिद्यादेबी भण्डारीको फोनपछि मुख्यमन्त्रीमा पुनः नियुक्ती गरेको उच्च स्रोतले जानकारी दिएको छ। साँसद ओलीले माओबादी रोजेपछि समस्यामा परेका पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई लुम्बिनीको बिकसित राजनीतिको बारेमा अबगत गराएका थिए।
लुम्बिनीको मुख्यमन्त्रीबाट शंकर हट्ने संभाबना बढेपछि त्यसबारेमा आवश्यक कदम चाल्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आकस्मिकरुपमा पार्टीको स्थायी समितिको बैठक बोलाएका थिए। त्यही बैठकमै शंकरले मिति नराखिएको एउटा कागजमा एमालेका ४१ जना साँसदको हस्ताक्षर बिगतमै गरेर राखिएको जानकारी गराएका थिए। त्यही पुरानो कागजका आधारमा मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख यादबलाई भनेका थिए। तर त्यति बेलासम्म पोखरेलसंग छन् भनिएका अन्य तीन साँसदले पनि साथ छाडिसकेका थिए।
जसको जानकारी सभामुखमार्फत प्रदेश प्रमुखले पाइसकेका थिए। त्यसैले प्रधानमन्त्री ओलीलाई प्रदेश प्रमुखले शंकरसँग ४१ साँसद नरहेको भन्दै पुनः नियुक्ति गरे संबैधानिक जटिलता आउने बताएका थिए। प्रदेश प्रमुखको समेत यस्तो जबाफ पाएपछि प्रधानमन्त्री ओली सिधै सितल निबास हानिएका थिए। यतिबेलासम्म लुम्बिनीको बिकसित राजनीतिबारे राष्ट्रपतिले जानकारी पाइसकेकी थिइन। प्रधानमन्त्री ओली पुगेपछि त्यसबारेमा थप २० मिनेट जति कुरा भएको स्रोत बताउँछ। यसपछि राष्ट्रपतिले प्रदेश प्रमुखलाई फोन गरेर ४१ जनाको हस्ताक्षर भएकाले शंकरलाई नै पुनः मुख्यमन्त्री बनाउन भनेको स्रोतको दाबी छ।
प्रधानमन्त्री र राष्ट्रपति दुबैको फोनले दबाबमा परेका प्रदेश प्रमुखले अन्ततः पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरे। यसमा प्रदेश प्रमुखलाई पनि आफ्नो पदको चिन्ता भएको स्रोतको दाबी छ। संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सक्ने संबैधानिक प्राबधानका कारण प्रदेश प्रमुख यादब डराएको स्रोतको भनाई छ।
नेकपा एमालेको एकल सरकार निर्माण गरेर बाँकी अबधिभर निश्चिन्त भएर सरकार चलाउने योजनाका साथ मुख्यमन्त्री पोखरेलले राजीनामा गरेका थिए । फ्लोर क्रसबाट हटाउन सक्ने संभाबना देखेपछि पोखरेलले यस्तो कदम चालेका थिए। एउटा पार्टीको बहुमतको सरकार निर्माण भएपछि दुई बर्षसम्म अबिश्वासको प्रस्ताब ल्याउन नपाइने हुदा मुख्यमन्त्री पोखरेलले यस्तो चतु¥र्याइ गरेका थिए।
प्रदेश प्रमुख यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। यो संबैधानिक ब्यबस्था प्रदेशसभामा एउटै पार्टीको बहुमत भएमा लागू हुन्छ।



लोकपाटी न्यूज

