काठमाडौं। लुम्बिनी प्रदेशका सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन्। कपिलवस्तुबाट प्रदेश सभामा निर्वाचित एमाले सांसद पाण्डेले सांसद पद र पार्टीबाट राजीनामा दिएका हुन्। उनले जनताको बिचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताए।
‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु। तर जनताको चाहना अनुसार राजनीतिमै रहन्छु,’ पाण्डेले भने। जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेको पनि उनले बताए। पाण्डे एमालेको प्रदेश कमिटी सदस्यसमेत हुन्।
कपिलवस्तु २ (क)बाट उनी निर्वाचित भएका थिए। पाण्डे प्रदेश सभामा सामाजिक विकास समितिका सभापतिसमेत हुन्। ‘पार्टीको घोषणापत्रमा गरेको वाचा अनुसार काम हुन सकेन। यस्तै अवस्थामा चुनावमा जाँदा त जनताले लखेट्छ,’ पाण्डेले भने। त्यसैले पदमा बसिरहन उपयुक्त नठानेको पनि उनले बताए।
अब प्रदेश सरकार बनाउने र गिराउने खेलमा आफू नरहेको पनि पाण्डेको प्रस्ट पारे। ‘बहुमत र अल्पमत जसुकैको होस् मतलव भएन,’ उनले भने।



लोकपाटी न्यूज

