काठमाडौँ, १९ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनको राजीनामा पनि स्वीकृत भइसकेको छ। तर, नेकपाबाट निर्वाचित सांसद बिमला ओली माओवादी केन्द्र प्रवेश गरेसँगै पोखरेल थप संकटमा परेका छन्।
एमालेको एकल बहुमतको सरकार बनाउने तयारीका साथ पोखरेल अघि बढेपछि जनता समाजवादी पार्टी, नेपालको नेतृत्व सशंकित बनेको छ। खासगरि पोखरेललाई नै सघाउने गरि अविश्वासको प्रस्तावबाट ब्याक भएर उनकै सरकारमा चार जना सांसद सहभागी भएका थिए।
तर, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले चार जना सांसदलाई कारबाहीको लागि गरेको सिफारिश अनुसार प्रदेश सभामुखले उनीहरु पदमुक्त भएको जानकारी गराएका थिए। लगत्तै, चार जना सांसदलाई पदमुक्त गरेको विषय अवैधानिक भएको र यादव पक्षले फर्जी कारबाही गरेको ठाकुर पक्षको आरोप थियो।
यस बीचमा पदमुक्त भएका चार सांसदलाई काठमाडौं बोलाएर ठाकुरले छलफलसमेत गरेका थिए। ठाकुर पक्ष कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगपनि पुगेको थियो। तर, शंकर पोखरेलले आज लिएको निर्णयबाट भने जसपाको नेतृत्व खासगरी ठाकुर–महतो पक्ष नराम्ररी झस्किएको छ।
चार जना सांसदलाई पदमुक्त गरेको विषयमा कानूनी उपचारको खोजीमा रहेको ठाकुर पक्षलाई नै आघात पुग्नेगरि पोखरेलले चार जना सांसद पदमुक्त भएको विषयलाई आधार मानेर लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय गरेका हुन्। यसले अब कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरु आकस्मिक छलफलमा जुटेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनकाअनुसार छलफलमा अहिले अध्यक्ष ठाकुर, नेता महतोलगायतका नेताहरु सहभागी भएका छन्।
ठाकुरले एमालेसँग भएको सत्ता साझेदारीको सहमति मुख्यमन्त्री पोखरेलले तोडेको बताएका छन्। मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफ्ना सांसदहरुको पदसमेत गएको तर आफ्नो पद जोगाउन पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको र एमालेको एकल सरकार बनाउने भन्दै आफ्ना नेताहरुमाथि धोका दिएको ठाकुरको गुनासो छ।
मुख्यमन्त्री पोखरेलले धोका दिएपछि जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्ष ओली समूहसँग झस्किएको छ। ओली पक्षले सहमति गर्ने तर लागू नगर्ने भएपछि ठाकुर–महतो पक्ष झस्किएको हो। योसँगै केन्द्रमा देखिएको गठबन्धन पनि धरापमा परेको छ।



लोकपाटी न्यूज

