गाउँपालिका टुक्रयाउने प्रस्ताव पारित

Rukum_Purba
लोकपाटी न्यूज

रुकुमपूर्व। रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ। चौधवटा वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगंगा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो। भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ।

नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो। गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नं वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिए। उनका अनुसार उत्तरगंगा गाउँपालिकामा ७ र ८ नं वडासँगै १० देखि १४ नंसम्मका वडाहरु रहनेछन्।

यस्तै १२ नं वडामा रहेको जाजरबाङ गाउँलाई १३ नं वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ। सिस्ने गाउँपालिका १ र २ नं वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगंगा गाउँपालिकाको ७ र ८ नं वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लले बताए।

गाउँसभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै संघमा सिफारिस हुने कानूनी प्रावधान रहेको छ। स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ। सोहीअनुरुप पुथाउत्तरगंगा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित गरेको जनाइएको छ।

अहिले रुकुम(पूर्व)मा सिस्ने, भूमे र पुथाउत्तरगंगा गरेर जम्मा तीनवटा गाउँपालिका रहेका छन्। स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुम(पूर्व) सबैभन्दा सानो जिल्ला हो। -रासस