काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ शुक्रवार जिल्ला कारागार चितवनबाट छुटेका छन्। २५ हजार धरौटी रकम बुझाएपछि चन्द चितवन कारागारबाट छुटेका हुन्।
चन्दले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला अदालत नवलपरासीले जानकारी दिएको छ। अदालतले मागेको धरौटी नबुझाएपछि उनी थुनामा रहेका थिए। २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए।
नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरू यसअघि नै रिहा भएका थिए। चन्द बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए।
घाँटी र पेटमा समस्या आएपछि उपचारका लागि उनलाई चितवन कारागार सारिएको थियो। सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिपश्चात् पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता छुटेका छैनन्। यस विषयमा विप्लवले पटक-पटक प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गरेका थिए।



लोकपाटी न्यूज

