एमालेले जारी गर्‍याे नयाँ संगठनात्मक सर्कुलर (पूर्णपाठ)

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-१० जारी गरेका छन्। ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैशाख ६, १० र १२ गते बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकको निर्णयलाई एकरुपताका साथ कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।

अन्तरपार्टी निर्देशनमा उनले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठनलगायत समावेश गरेका छन्। पार्टीका निर्णयहरुबारे जारी सर्कुलरमा अध्यक्ष ओलीले भनेका छन्, ‘सबै कमरेडहरुलाई उपर्युक्त निर्णयहरुको व्यवस्थित, योजनावद्ध र निष्ठापूर्वक कार्यान्वयनका लागि पुनः निर्देशित गरिन्छ।’

बालुवाटार बैठकबाट पारित संगठनात्मक प्रस्तावमा पार्टीका विवादित संरचनाहरु कायमै राख्ने, असारसम्म सदस्यता नवीकरण गरिसक्ने र भदौमा वडातहसम्म अधिवेशनहरु गर्ने योजना प्रस्तुत गरिएको छ। माधव नेपाल समूहको हकमा संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने।’

संगठनात्मक योजनाका ९ बुँदा

(क) प्रदेश, जिल्ला र सो मातहतमा पालिकाको वडा तहसम्म संगठन कमिटी बनाउने । कमिटीको पदाधिकारीमा अध्यक्ष र सचिव रहने । कमिटी र सचिवालयको सदस्य संख्या नेकपाको कार्यकालमा भएसरह हुने ।

(ख) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ पुस ७ गते विस्तारित केन्द्रीय कमिटीका सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने । यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरू, विभागका सचिवहरु, जनसंगठनका अध्यक्षहरू, प्रवास क्षेत्रबाट मनोनित कमरेडहरु राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य हुने ।

(ग) प्रदेश संगठन कमिटीको योजना अनुरुप २०७८ जेठ मसान्तभित्र जिल्ला र सो मातहतका सबै तहमा पार्टी कमिटीहरूको पुनर्गठन गरी संगठन कमिटीमा रुपान्तरण गर्ने । जन संगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गर्ने ।

(घ) २०७८ असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने । पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यता पत्रको विवरण फारम र सदस्यता पत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने । पार्टीमा एकतावद्ध हुने सदस्यहरुको सदस्यता पनि यही अवधिमा नवीकरण गर्ने । सदस्यता नवीकरण शुल्क र लेबी पार्टीको नियमावली र अपानि ९ मा उल्लेख भए बमोजिम हुने ।

(ङ) पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आमरुपमा यथावत राख्ने । ती कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।

(च) निर्वाचन आयोगको सूचना बमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताहरूको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता कमरेडहरु योजना एवं सक्रियताका साथ परिचालित हुने । उपनिर्वाचन यही जेठ महिनाको अन्तिम सातामा आयोजना गर्न सरकारलाई सुझाव दिने । नियम कानून बमोजिम आयोजना हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीमा क्रियाशील रहने ।

(छ) सबै तहमा उपरोक्त बमोजिम पार्टी तथा जनसंगठनहरुको संगठनात्मक संरचना निर्माण गर्न र पार्टी सदस्यता नवीकरण गर्न जिल्ला कमिटीले प्रत्येक पालिकामा ७ जनाको दरले विशेष कार्यदल गठन गरी खटाउने र प्रदेश कमिटीका तर्फबाट प्रत्येक पालिकामा २ जनाको दरले सहजकर्ता खटाउने ।

(ज) पार्टी सदस्यता नवीकरण सम्पन्न भएसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरु देहायबमोजिम गर्ने :

– विधान संशोधनमा केन्द्रीत भएर छलफल एवं निर्णय गर्न २०७८ साउन २५-२७ मा राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने ।

– वडा अधिवेशन : २०७८ भदौ ५ गते

– पालिका अधिवेशन : २०७८ भदौ १५ गते

– जिल्ला अधिवेशन : २०७८ भदौ ३० गते

– प्रदेश अधिवेशन : २०७८ अर्साज २३ गते

– सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने ।

(झ) विगतमा पार्टी प्रवेश गरेका वा पार्टीमा एकतावद्ध भएका सबै कमरेडहरुलाई उपयुक्त जिम्मेवारी निर्धारण गर्न सम्बन्धित प्रदेश तथा जनसंगठनका ईञ्चार्ज कमरेडहरुले विशेष ध्यान दिने।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/Apani-10.pdf”]