एमालेमा लागेका थप ७ जना माओवादी केन्द्रबाट निष्कासित

perish_danda
लोकपाटी न्यूज

रौतहट। नेकपा माओवादी केन्द्रले एमालेमा लागेका रौतहटका ७ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ। उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ।

एमालेमा लागेका कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह, उपप्रमुख गौरीशंकर जयसवाल, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीलाई पार्टीबाट निष्कासन गरेको हो।

स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेका जनप्रतिनिधिलाई माओवादी केन्द्रले कारबाही गरेको हो। उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको छ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ। वैशाख १० मा उनीहरुसित स्पष्टीकरण सोधिएको थियो। तर चितबुझ्दो जवाफ नआएकाले पार्टीबाट निष्कासन गरिएको सचिव पटेलले जनाए।

२०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकीकरणपछि नेकपा पार्टी बनेको थियो। एकीकरणको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरेपछि एमाले र माओवादी साविककै पार्टी कायम हुन पुग्यो। त्यसपछि माओवादीबाट निर्वाचित भएकाहरु एमालेमा प्रवेश गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा स्वत: पदमुक्त हुने कानुनी व्यवस्था छ।