काठमाडौं। राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका एक जना सांसद अपहरणमा परेको दाबी गरेको छ। गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही अपहरणमा परेको जनमोर्चाको दाबी छ। पार्टीका महासचिव मनोज भट्टले आफ्नो पार्टीका सांसद शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरूले अपहरण गरेर अज्ञात स्थल लुकाएको आरोप लगाएका छन्।
अविश्वास प्रस्तावमाथि प्रदेशसभाको बुधबारको बैठकमा भएको छलफलमा शाही उपस्थित नभएपछि उनको खोजी भएको थियो। छलफल लगत्तै प्रस्तावमाथि मतदानको तयारी सुरु हुँदा समेत शाही प्रदेशसभामा देखा नपरेपछि उनको खोजी तीव्र पारिएको थियो। शाही फोन अफ गरी सम्पर्कविहीन भएपछि पार्टी नेतृत्वले समेत केन्द्रबाट निरन्तर खोजी गर्दा पनि नभेटिएपछि उनको अपहरण गरिएको हुनसक्ने महासचिव भट्टले बताए।
‘उहाँ बिरामी भएर कोठामा जानुभएको थियो, मतदानको बेलामा मलाई खबर गर्नुहोला म आउँछु पनि भन्नुभएको थियो,’ भट्टले भने, ‘तर अहिलेसम्म पनि उहाँको स्थिति अज्ञात छ। उहाँलाई अपहरण गरेर अविश्वासको प्रस्ताव फेल गर्ने सरकार पक्षको षडयन्त्र हुनसक्छ।’ आफूहरूले शाहीको स्थिति प्रस्ट नहुँदा सम्मको लागि प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको भट्टले बताए।
‘मतदानको प्रक्रिया रोकिँदैछ,’ उनले भने। जनमोर्चाले विशेष अधिवेशन रोकेर अज्ञात रहेका आफ्ना सांसद शाहीलाई सार्वजनिक गर्न मागसमेत गरेको छ। जनमोर्चाकी सचेतक प्रमुख पियारी थापाले संसद् सचिवालयमा बुधवार निवेदन समेत दिएकी छन्। प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध विपक्षी दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ल्याएको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा छलफल भइरहेको छ।
सचेतक थापाले दर्ता गरेको पत्रमा अज्ञात रहेका सांसद शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र सार्वजनिक नभए सम्मका लागि सदन स्थगित गर्न माग गरेको छ। सभामुख नेत्रनाथ अधिकारीले सदनको कारबाही केही समयका लागि स्थगित गरेका छन्। शाही बाग्लुङ क्षेत्र २ ख बाट उपनिर्वाचनमा निर्वाचित भएका हुन्। राजमोले केन्द्रीय तहबाट नै अविश्वासको मतको पक्षमा उभिने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

