पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्री र्पथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ। सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ।
अहिले प्रदेश सभा सदस्यहरूले अविश्वासको प्रस्तावमाथि छलफल गरिरहेका छन्। मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रे, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका सांसदहरूले पनि अविश्वासको प्रस्तावमा समर्थन गरेकाले मुख्यमन्त्री गुरूङको पक्षमा मत पुग्ने सम्भावना कम छ।
प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नहरुको आजै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जवाफ दिने कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। अविश्वास प्रस्ताव असफल भएमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जारी रहनेछ।
तर प्रस्ताव पारित भएमा भने मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार गिर्नेछ। त्यस्तो भएमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। प्रदेश प्रमुखले सपथ खुवाएपछि उनले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।



लोकपाटी न्यूज

